Live

एमाले कैलालीको नेतृत्वमा पुग्न नेता डेजी पाण्डे,ढुंगाना र जोशीविच घमासान प्रतिष्पर्धा हुने

एमाले कैलालीको नेतृत्व हात पार्न नेतात्रय भट्ट,थापा र भण्डारीले अघी सारेका आकांक्षीहरु मैदानमा भिंड्दै

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप सुरु गरेका छन्। नेताले आपसी राजनीतिक छलफलसमेत थालेका छन्। भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन हुने भएपछि नेताहरू राजनीतिक छलफलमा सक्रिय भएका हुन्। कैलाली जिल्लाको नेतृत्वका तीनजना नेता आकांक्षी देखिएका छन्। एमाले कैलालीको आगामी नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

जिल्लाको आगामी नेतृत्व लिन नेताहरुबिच आन्तरिक संघर्ष चलिरहेको छ। नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन्। आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेताले लबिङ सुरु गरेका हुन्। नवौं अधिवेशन नजिकिँदै गर्दा अधिवेशनको सरगर्मी बढेको हो। कैलालीको आगामी नेतृत्वका लागि तीन नेता आकांक्षीको रुपमा देखिएका छन्।

केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन्। साथै भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्। स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन्।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन्। फागुन ६ र ७ गते सुखडमा नवौं अधिवेशन हुँदैछ। कैलालीको आगामी नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको छ।

ढुङ्गाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्। उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन्। त्यस्तै सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन्। २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन्।

उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन्। त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन्।

सुदूरपश्चिममा हालसम्म दार्चुला जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ। गत पुसमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रबहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको थियो। बाँकी ८ जिल्लामध्ये बझाङबाहेक सबै जिल्लामा अधिवेशनको मिति तोकिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले बताए।

कैलालीमा फागुन ६ र ७ गते सुखडमा र कञ्चनपुरमा चैत्र १ र २ गतेका लागि अन्तिम मिति तोकिएको उनले बताए। त्यस्तै, बाजुरामा फागुन १६ र १७, डडेल्धुरामा फागुन २७ र २८, बैतडीमा फागुन २९ र ३०, डोटीमा चैत्र २ र ३ गते र अछाममा चैत्र १९ र २० गते जिल्ला अधिवेशनको मिति तय गरिएको छ। उता बझाङमा भने उप–निर्वाचनपछि मात्रै जिल्ला अधिवेशनको मिति तोकिने तयारी छ।

प्रतिकृया दिनुहोस