Live

जानकी आँखा अस्पताल सुधारकालागि संघर्ष समितिको गठन

जनकपुरधाम । जानकी आँखा अस्पताल जनकपुरधाममा बेथीति बढ्न थालेपछि सुधारको लागि आन्दोलन गरिने भएको छ ।

जनकपुरधामस्थित रामानन्द युवा क्लबको सभाकक्षमा बुधबार स्थानीयवासी एवम् अभियन्ताहरुको बसेको बैठकले १७ सदस्यीय आँखा अस्पताल सुधार संघर्ष समितिको गठन गरेको छ ।

रामानन्द युवा क्लबका अध्यक्ष शशिभुषण झा (आशुतोष)को अध्यक्षतामा भएको सो बैठकले झाकै संयोजकत्वमा संघर्ष समितिको गठन गरेको बैठकमा सहभागि श्याम सुन्दर झाले जानकारी दिए ।
समितिमा नरसिंह युवा क्लबका अध्यक्ष संजिव मिश्र, बाल्मिकि युवा क्लबका अध्यक्ष सन्तोष राउत, जनकपुरधाम उपमहानगरपालिका ८ का अध्यक्ष दिनेश सिंह, जउनपा ९ का अध्यक्ष परमेश्वर साह, नेपाली काँग्रेस जउनपा ८ का अध्यक्ष सुरेन्द्र शर्मा, जनमत पार्टी रंजीत राम, नेकपा एमालेका जैनुल राइन, नेकपा समाजवादीका मोहन उपाध्याय, जनता समाजवादी पार्टीका रामदेव यादव, लोकतान्त्रिक समाजवादी पार्टीका शम्भुनाथ झा निदोर्षि, राप्रका बरुण झा, नागरिक समाजका तर्फबाट श्याम सुन्दर झा, कमल साह, तमलोपाका मिथलेश कुमार झा, जउनपा १३ का अध्यक्ष जीत बहादुर राउत, नेकपा माओवादीका अनिल सिंहसहितका व्यक्तिहरु सदस्य रहेका छन् ।

सो समितिले अस्पतालमा देखिएको बेथीति, अध्यक्ष नरेश कुमार सिंहको मोनोपोली गरिरहेका लगायतको विषयमा अध्ययन गरी आगामी रणनीति तयार पार्ने जनाइएको छ । अस्पताल सुधारका लागि कडा भन्दा कडा आन्दोलन नै गर्नु परे पछाडि नपर्ने समितिका संयोजक झाले बताए ।

आँखा अस्पताल विकास समितिका अध्यक्षमा नरेश प्रसाद सिंह नियुक्त भएदेखि विगत १० महिना यता अस्पतालको अवस्था दयनीय बन्दै गएको आरोप लाग्दै आएको छ । अस्पतालमा बेथीति बढ्न थालेपछि करिब एक महिना पूर्व अस्पतालमा स्थानीयवासीहरुले अध्यक्ष सिंह विरुद्ध चर्को नारबाजी समेत गरेका थिए । नाराबाजी पछि अस्पतालको विवाद जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगेको थियो । जिप्रकामा भएको सहमतिको समेत अध्यक्ष तथा अस्पताल प्रशासनले पालना नगरेकोले संघर्ष समिति ने गठन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस